ई-पासपोर्ट उत्पादन क्षमता बढाउँदै राहदानी विभाग, तीन महिनाभित्र प्रणाली सहज बनाउने लक्ष्य
काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो माग व्यवस्थापन गर्न राहदानी विभागले उत्पादन तथा सेवा प्रवाह क्षमता विस्तार गरेको जनाएको छ ।
विभागका अनुसार हाल दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा छपाइ गर्न सक्ने व्यवस्था मिलाइएको छ । पछिल्लो समय विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी आवेदनकर्ताको चाप बढेको विभागले जनाएको छ । विभागले बुधबार जारी गरेको सूचनामार्फत नागरिकलाई छिटो, सहज, सुरक्षित र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउने उद्देश्यले प्रणाली सुधार र उत्पादन क्षमतामा निरन्तर काम भइरहेको जानकारी दिएको छ ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रियाका कारण राहदानी मागमा उल्लेख्य वृद्धि भएको विभागको भनाइ छ । यसबाहेक वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचारलगायत प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या बढ्दा ई–पासपोर्टको आवश्यकता पनि बढ्दै गएको विभागले जनाएको छ ।
विभागले विद्युतीय राहदानी सेवा काठमाडौँमा मात्र सीमित नभई देशभर विस्तार गरिएको जनाएको छ । हाल ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयमार्फत सेवा उपलब्ध भइरहेको छ भने विदेशमा रहेका नेपाली नागरिकले सम्बन्धित नेपाली नियोगबाट समेत सेवा लिन सक्ने व्यवस्था रहेको छ ।
