बञ्चरेडाँडा फोहर व्यवस्थापन सुधारका लागि समन्वय बढाउन सञ्चार मन्त्रीको निर्देशन

काठमाडौँ । बञ्चरेडाँडा फोहर व्यवस्थापन स्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई प्रभावकारी समन्वय र तत्काल सुधारका काम अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्री तिमिल्सिनाको पहलमा सञ्चार मन्त्रालयमा भएको छलफलमा काठमाडौँ महानगरपालिका, सहरी विकास तथा भवन निर्माण विभाग, ककनी गाउँपालिका लगायतका प्रतिनिधिहरूसँग फोहर व्यवस्थापनको वर्तमान अवस्था, स्थानीयवासीको समस्या र दीर्घकालीन समाधानका उपायबारे छलफल भएको हो ।

छलफलका क्रममा मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा क्षेत्रको नियमित अनुगमन, स्थानीय समुदायका गुनासा सम्बोधन, फोहर ढुवानी व्यवस्थापन सुधार तथा आवश्यक पूर्वाधार विकासमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे । उनले फोहर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

स्थानीयवासीले लामो समयदेखि बञ्चरेडाँडा पुग्ने सडकको अवस्था, फोहरबाट फैलिने दुर्गन्ध, ढुवानीका क्रममा अपनाइने सावधानी, फोहर विसर्जनपछि गरिनुपर्ने व्यवस्थापन तथा माटोले ढाक्ने प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै आएका छन् । यिनै विषयलाई सम्बोधन गर्न सरोकारवाला निकायसँग छलफल गरिएको हो ।

बैठकमा बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका २१ स्थानीय तहबाट फोहर ल्याइने भए पनि व्यवस्थापनको मुख्य जिम्मेवारी र आर्थिक भार भने महानगरपालिकामै केन्द्रित रहेको विषय पनि उठाइएको थियो । फोहर व्यवस्थापनमा सहभागी सबै स्थानीय तहको जिम्मेवारी स्पष्ट गरी सहकार्यको प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ ।