कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई रु दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । सरकारले घर, पसल अन्य आगजनी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार रु ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आयोजना गरेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

गत आइतबार राति भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आठ बुँदे निर्णय पनि गरेको छ । बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

 सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी समाजिक सद्भावका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।