प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । बुधवार बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिस भएका तीन जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो । 

प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ मंगलवार भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ बुधवार सम्पन्न भएको हो । समितिका सभापति वोधनारायण श्रेष्ठले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गरे । 

समितिले अनुमोदनका साथै प्रस्तावित पदाधिकारीहरूलाई उनहरूले प्रस्तुत गरेको कार्ययोजना परिमार्जन गरी पुनः पेश गर्न निर्देशन समेत दिएको छ । सुनुवाइका क्रममा सांसदहरूले दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिले आग्रह गरेको छ ।