आईसीसी टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२०आई अलराउन्डर वरियतामा सुधार गर्दै तेस्रो स्थानमा पुगेका छन्। आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियता अनुसार दीपेन्द्र चौथो स्थानबाट एक स्थान माथि उक्लिएका हुन्। उनको रेटिङ अंक भने २५६ नै कायम रहेको छ।

पछिल्लो समय नेपाली पुरुष क्रिकेट टोलीले टी-२०आई खेल नखेले पनि वरियतामा अन्य खेलाडीको स्थान परिवर्तन हुँदा दीपेन्द्रलाई फाइदा पुगेको हो। यसअघि उनीभन्दा माथि रहेका भारतका हार्दिक पाण्ड्याको वरियता घटेपछि दीपेन्द्र तेस्रो स्थानमा पुगेका हुन्। हार्दिकले पनि पछिल्लो अवधिमा टी-२०आई खेल खेलेका छैनन्।

टी-२०आई अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा कायम छन्। उनको रेटिङ ३२० रहेको छ। दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब रहेका छन्।