श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका ७९ वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।  

श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा  मङ्गलबार निधन भएको थियो। उनी १२ बुँदे सहमतिको हस्ताक्षरकर्तामध्येका एक नेता हुन्। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।  बैठकले स्वर्गीय नेता श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले  साउन १३, १४ र १५ गते  केन्द्र, प्रदेश  र जिल्ला कार्यालयमा  आधा झण्डा झुकाउने निर्णय गरेको बताए । त्यसैगरी,  साउन १४ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

 साथै, १३औँ दिनमा उनको गृहजिल्ला स्याङ्जाको कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोकसभाको आयोजना गरिने जनाइएको छ ।