सामाजिक सञ्जालमा भ्रम नफैलाउन सिरहा प्रशासनको आग्रह, सद्भाव कायम राख्न आह्वान

काठमाडौँ । पछिल्लो समय सुनसरीमा भएको घटनालाई लिएर सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट धार्मिक र साम्प्रदायिक तनाव सिर्जना गर्ने खालका सामग्री प्रसारित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले नागरिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बुधबार जारी गरेको सूचनामार्फत अपुष्ट सूचना, अफवाह तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रसार नगर्न सबै पक्षलाई अनुरोध गरेका हुन्।

प्रशासनले विगतका घटनालाई अहिलेका परिस्थितिसँग जोडेर भ्रम फैलाउने, कुनै धर्म, समुदाय, संस्कृति वा आस्थामाथि लक्षित गरी नकारात्मक सन्देश प्रवाह गर्ने कार्यले सामाजिक वातावरण प्रभावित पार्न सक्ने जनाएको छ। यस्ता गतिविधिबाट अलग रहँदै जिल्लामा कायम रहेको आपसी विश्वास र सहअस्तित्वलाई निरन्तरता दिन प्रशासनले आग्रह गरेको छ।

सिरहामा विभिन्न जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदायबीच रहेको सहिष्णुता र एकता संरक्षण गर्नु सबै नागरिकको जिम्मेवारी भएको प्रशासनको भनाइ छ। यसका लागि धार्मिक अगुवा, नागरिक समाज, सञ्चार क्षेत्र, बुद्धिजीवी तथा अन्य सरोकारवालालाई समेत सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

प्रशासनले सामाजिक अशान्ति निम्त्याउने, धार्मिक भावनामा असर पुर्‍याउने वा कानुनविपरीतका गतिविधि गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। यस्ता कार्यमा संलग्नलाई मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ लगायतका कानुनी व्यवस्थाअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।