अन्तिम श्रद्धाञ्जलीका लागि श्रेष्ठको पार्थिव शरीर सानेपामा, आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । श्रेष्ठको पार्थिव शरीरमा काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने विभिन्न राजनीतिक दलका नेता तथा काँग्रेस कार्यकर्ताहरूले पनि श्रद्धाञ्जली दिएका छन् ।
श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई काँग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
८३ वर्षको उमेरमा मंगलवार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको हो । बुधवार नै उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले दिवंगत श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका विशेष स्तम्भ भएको बताए । श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान इतिहासमा सदैव स्मरणीय रहने उनको भनाई छ ।
