‘यो राजनीतिक तिक्तता बढाउने समय होइन’-‘प्रचण्ड’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।  बुधवार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न आह्वान गरेका हुन् ।

अध्यक्ष दाहालले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् र संविधान निर्माणका जटिल चरणहरूमा राजनीतिक दलहरूले देखाएको साझा सहमति र राष्ट्रिय एकताको स्मरण गरे । वर्तमान समयमा पनि सोही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीवोध आवश्यक रहेको उनको भनाइ छ । उनले राष्ट्रिय महत्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साझा समाधान पहिल्याउन नसकेको भन्दै प्रश्नसमेत उठाए । यद्यपि, समसामयिक विषयमा छलफलका लागि बैठक आह्वान गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए। परिस्थितिलाई सहज बनाउन सरकार थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिए । 

उनले कुनै पनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने उल्लेख गर्दै संवाद र राजनीतिक समझदारी नै उत्तम विकल्प भएको बताए । नेकपाले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिइसकेको जानकारी गराउँदै उनले घटनास्थलमा वाह्य तत्त्वहरूले वातावरण भड्काउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।