जटिल बन्दै डा. गोविन्द केसीको स्वास्थ्य, आइसियुमा राखियो

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ। धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा तीन दिनदेखि अनशनरत डा. केसीको शरीरमा सुगरको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएको हो।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको हातखुट्टाका नसा बाउँडिने र बोल्न समेत गाह्रो हुने समस्या देखिएको छ। शनिबार बिहान डा. केसीको स्वास्थ्य परीक्षण गर्दा रगतमा सुगरको मात्रा ५० पाइएको थियो।

आइसियुमा भर्ना गरेर पुनः जाँच गर्दा सुगरको मात्रा घटेर ४९ मा झरेको डा. जैशीले जानकारी दिए। बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवाल नेतृत्वको टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गरी अवस्था थप बिग्रन सक्ने भन्दै तत्काल आइसियुमा भर्ना गर्न सुझाव दिएको थियो।

यसैबिच, डा. केसीको सत्याग्रहप्रति सरकारले चासो देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. केसीका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार साँझ डा. केसी विश्राममा रहेकाले मन्त्री पोखरेलले सहयोगी डा. जैसीसँग फोनमा कुराकानी गरेका थिए भने राति ११ बजे डा. केसीसँगै प्रत्यक्ष टेलिफोन संवाद गरेका थिए।

मन्त्री पोखरेलले डा. केसीले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र वार्ता टोली गठन गरी सम्भव भए आफैँ धनगढी आउने आश्वासन दिएको डा. जैशीले बताए।