हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ ।

भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।

चार नारायणको आज र हरि बोधिनी एकादशीमा एकैदिन पूजा आज एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउने गरेका छन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजा आज एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।