निर्यातमुखी उद्योगका समस्या समाधानमा सरकार सक्रिय, व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातमुखी उद्योगले उठाएका नीतिगत तथा प्रशासनिक समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित छलफलमा विभिन्न निर्यातजन्य उद्योगका प्रतिनिधिसँग संवाद गर्दै उनले व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने स्पष्ट पारे।
झण्डै दुई घण्टा चलेको छलफलमा नेपाल प्लाइउड उत्पादक संघ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पस्मिना उद्योग संघ तथा नेपाल डग च्यु उत्पादक संघका प्रतिनिधिहरूले आ-आफ्ना क्षेत्रसँग सम्बन्धित समस्या र सुझाव प्रस्तुत गरेका थिए।
नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष वलराम गुरुङले अमेरिकाले जुलाई ८ देखि ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’को प्रमाणीकरण अनिवार्य गरेपछि नेपाली गलैँचा निर्यात प्रभावित भएको जानकारी गराए। नेपालमा आवश्यक प्रमाणीकरण सुविधा उपलब्ध नभएको र नापतौल विभागको प्रयोगशाला सञ्चालनमा नरहेकाले व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उनले अस्थायी रूपमा एक वर्षको ‘ग्रेस पिरियड’ उपलब्ध गराउन कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे।
प्रधानमन्त्री शाहले उक्त विषयमा तत्काल आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्।
गुरुङले गलैँचा उत्पादनका लागि आयात हुने ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ महिनामा तीन पटक मात्र हुने व्यवस्थाले उद्योग प्रभावित भएको भन्दै प्रमाणीकरण प्रक्रिया थप नियमित बनाउन माग राखेका थिए। त्यसपछि प्रधानमन्त्रीले सम्बन्धित निकायलाई सातामा दुई दिन यस्तो सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिए।
