‘प्रहरी सेवा चुनौतीपूर्ण भएपनि नागरिक सुरक्षाको आधार हो’ : मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन् । शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरीको भूमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राखेका हुन् ।

 प्रहरीको कार्यप्रकृतिबारे चर्चा गर्दै श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरको रूपमा चित्रण गरे। आफ्नो देशको प्रहरीको उपस्थितिले मात्रै नागरिकले सुरक्षित महसुस गर्ने उनको तर्क छ । वि.सं. २०३२ सालमा भारतको लखनऊ भ्रमण गर्दा स्थानीयबाट ठगिनुपरेको व्यक्तिगत अनुभव सुनाउँदै उनले पराई मुलुकमा सुरक्षाको प्रत्याभुति पाउन कठिन हुने तर स्वदेशमा प्रहरी भएकै कारण नागरिक ढुक्कसँग बस्न सकेको उल्लेख गरे।

सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक रहेको औँल्याए । विदेशमा चालकहरूले अरूलाई प्राथमिकता दिने (पहिले तिमी) संस्कार रहेको उल्लेख गर्दै उनले नेपालमा पनि लेन अनुशासन, गतिको पालना र लाइटको सही प्रयोगबारे थप शिक्षा दिनुपर्नेमा जोड दिए ।

प्रहरीले चालेका सकारात्मक कदमहरूलाई जनताले पूर्ण रूपमा साथ दिएको उनको ठम्याइ छ । श्रेष्ठले भने, ‘प्रहरीको जागिर निकै चुनौतीपूर्ण र अपजसी हुन्छ । बिहानदेखि ट्राफिक व्यवस्थापन गर्नुपर्छ, आवश्यक पर्दा कडाइ पनि गर्नुपर्छ, फेरि प्रहरी सबैको मित्र भन्ने भावनासहित मुस्कुराएर सेवा पनि गर्नुपर्छ । यो साँच्चै कठिन जिम्मेवारी हो । प्रहरी भएकै कारण हामी आफ्नै देशमा सुरक्षित महसुस गर्छौं । विदेश जाँदा ठगी र विभिन्न समस्याको सामना गर्नुपर्छ ।