हस्तकला क्षेत्रका माग सम्बोधन गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता, नीतिगत सुधारमा जोड
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएका विभिन्न माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले क्षेत्रको संस्थागत विकास र नीतिगत सुधारका विषयमा आवश्यक पहल गर्ने आश्वासन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रसँग सम्बन्धित नीति निर्माण, परम्परागत कला तथा सीपको संरक्षण, रोजगारी सिर्जना र नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए।
महासंघका पदाधिकारीहरूले निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने, हस्तकला दिवसलाई राष्ट्रियस्तरमा मनाउनुपर्ने तथा हस्तकला क्षेत्रका लागि आवश्यक संरचना विकास गर्नुपर्ने माग राखेका थिए। प्रधानमन्त्री शाहले ती विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
महासंघले हस्तकला दिवसलाई राष्ट्रिय कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने माग राखेपछि प्रधानमन्त्री शाहले यस विषयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन्।
