माग सम्बोधन नभएपछि ७ साउनदेखि पुनः अनशनमा बस्ने डा. गोविन्द केसीको घोषणा

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना मागप्रति सरकारले कुनै ठोस पहल नगरेको भन्दै आगामी ७ साउनदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्।

दार्चुलाबाट बुधबार जारी विज्ञप्तिमार्फत उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थ अनुकूल सञ्चालन गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा नाफामुखी व्यवसाय नभई सार्वजनिक सेवाका क्षेत्र भएकाले त्यसअनुसार कानुनी व्यवस्था कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ।

डा। केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था गरे पनि सरकारले त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कदम नचालेको उल्लेख गरेका छन्।

उनले आवश्यक न्यूनतम मापदण्डसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजहरूको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाको नेतृत्व चयनसम्म पुगेको दाबी गरेका छन्। सरकार निजी मेडिकल क्षेत्रको प्रभावमा परेको आरोप लगाउँदै चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयमा स्वार्थ बाझिने व्यक्तिलाई जिम्मेवारी दिइएको उनको भनाइ छ।