टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
महानगरले मंसिर अगाडी नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
निर्माणाधीन केन्द्रको बुधवार अवलोकनपछि कार्यवाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताइन् । उनकाअनुसार हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने काम भइरहेको छ । यसले प्रदूषण र स्वास्थ्य जोखिम बढेकोले महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गर्न लागेको उनले जानकारी दिइन् ।
यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गर्ने उनले बताइन् । उनकाअनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुट्याइनेछ । अजैविक फोहोर पुनः प्रयोगको लागि पठाइने र जैविक फोहोर बञ्चरेडाँडातर्फ व्यवस्थापन गरिने उनले जानकारी दिइन्। उनले जैविक फोहोरहरूलाई कम्पोष्ट मल बनाउन उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताइन्।
