विद्यार्थी आन्दोलनमाथिको दमनलाई लिएर राहुल गान्धीद्वारा प्रधानमन्त्री मोदीको राजीनामा माग
काठमाडौँ । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली सुधारको माग गर्दै भएको विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन् ।
काँग्रेस पार्टीका नेता गान्धीले मंगलबार प्रधानमन्त्री निवास नजिकै अन्य विपक्षी सांसदसँगको प्रदर्शनका क्रममा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताए।
“सरकार न त जबाफदेहिता लिन चाहन्छ, न त यस विषयमा संसद्मा बहस गर्न तयार छ,” तल्लो सदनका विपक्षी दलका नेता गान्धीले उल्लेख गरेका छन् ।
सोमबार नयाँ दिल्लीको जन्तर–मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा करिब ६० जना प्रदर्शनकारी घाइते भएका थिए । पछिल्लो करिब पाँच वर्षयताकै ठूलो सडक प्रदर्शनका रूपमा हेरिएको उक्त घटनामा प्रहरीतर्फ पनि ११८ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ ।
‘ककरोच जनता पार्टी’ (सीजेपी) नामक अनलाइन अभियानको आह्वानमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गर्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । प्रहरीले प्रदर्शन नियन्त्रणका क्रममा अश्रुग्याँस र लाठी प्रयोग गरेको जनाएको छ भने प्रदर्शनकारीले ढुङ्गामुढा गरेको आरोप लगाएको छ ।
