सरकारले मिटरब्याज पीडितलाई फेरि धोका दियो: ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मिटरब्याज पीडितहरूलाई पुनः धोका दिएको आरोप लगाएका छन्।
आइतबार एमाले संसदीय विभागद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले देशको डुबेको अर्थतन्त्रलाई लुकाउन झन् गम्भीर सङ्कटतर्फ धकेलेको टिप्पणी गरे।
अध्यक्ष ओलीले वर्तमान सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्नुको सट्टा ढाँटपेच गरेर ढाकछोप गरेको बताए।
‘फेरि एक पटक मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ,’ उनले भने, ‘डुबेको अर्थतन्त्रलाई डुबेको छैन भनेर देखाउन यिनीहरूले यसलाई झन् डुबाइरहेका छन्। बजारमा मूल्य र कर वृद्धि अत्यधिक छ, तर सरकारमा बस्नेहरू सत्य कुरा बङ्ग्याएर बोलिरहेका छन्।’
रोजगारी सिर्जना गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै ओलीले युवाहरू बाध्य भएर विदेशिनु परेको यथार्थलाई बङ्ग्याइएको बताए।
