नेपालमा एमाले मात्रै लोकप्रिय पार्टी थियो, भ्रम फैलाएर अलोकप्रिय बनाइयो : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफ्नो पार्टी मात्रै वास्तविक रूपमा लोकप्रिय रहेको भए पनि अनेकौं भ्रम र दुष्प्रचार फैलाएर अलोकप्रिय बनाइएको दाबी गरेका छन्।
आइतबार संसदीय कामलाई प्रभावकारी बनाउने सन्दर्भमा पार्टीका सांसदहरूका लागि आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार लक्षित यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले एमालेले आफ्नो विचार, काम, जनपक्षीय नीति र राष्ट्रप्रतिको समर्पणका कारण लोकप्रियता हासिल गरेको भए पनि विरोधीहरूले यसलाई सुनियोजित रूपमा कमजोर पारेको बताए।
‘हाम्रो पार्टी मात्र लोकप्रिय थियो नेपालमा, तर अलोकप्रिय बनाइयो,’ ओलीले भने, ‘अहिले हाम्रो लोकप्रियतालाई धेरै तल झारिएको छ, जसलाई हामीले फेरि जनताका बीचमा गएर उठाउनु पर्नेछ।’
सम्बोधनका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन शाहको सरकारअन्तर्गत देशको आर्थिक र सेयर बजारको अवस्था खस्किएको आरोप लगाए।
