धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै
काठमाडौँ । पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो ।
बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान धुर्वे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको छ ।
रेडियो कलरले १०–१० मिनेटमा सूचना दिइरहेको उनले जानकारी दिए। हात्तीलाई डार्ट गरेपछि हर्मन नियन्त्रण गर्ने औषधिसमेत चलाइएको छ । हात्तीको दुईवटै दाह्रा छ इञ्च काटिएको छ । चौथो पटक ध्रुर्वेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको उनले जानकारी दिए।
