नयाँ राहदानी प्रणाली कार्यान्वयनमा, अत्यावश्यक सेवाग्राहीलाई मात्र आवेदन दिन विभागको आग्रह

काठमाडौँ । राहदानी विभागले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनपछि प्रारम्भिक चरणमा अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीलाई मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ। विभागले सोमबार जारी गरेको सूचनामा २०८३ असार २१ गतेदेखि नेपालको राहदानी प्रणालीलाई नयाँ प्रविधिमा स्थानान्तरण गर्दै सेवा सञ्चालन सुरु गरिएको जनाएको छ।

विभागका अनुसार नेपालको इतिहासकै ठुलो डाटा माइग्रेसन सम्पन्न गरी करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको छ।

विभागले यति ठुलो सूचना प्रविधि प्रणाली कार्यान्वयन गरी सेवा सञ्चालन गरेपछि सुरुवाती दिनमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिन सक्ने उल्लेख गरेको छ। यस्ता समस्या समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ २४सै घण्टा तयारी अवस्थामा रही निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको पनि सूचनामा जनाइएको छ।

प्रारम्भिक चरणमा प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन अत्यावश्यक रूपमा राहदानी आवश्यक परेका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। विभागले सेवाग्राहीको सहयोगले नयाँ प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।