मुगुका सांसद शाही भन्छन्– गणेशको राति नै मृत्यु भइसकेको थियो, सरकारले नाटक गर्‍यो

 काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए ।

सांसद शाही मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । उनले यो विषयमा घटनालगत्तै पनि संसद्मा आफ्ना कुरा राखेर सरकारको ध्यानाकर्षण गराएका थिए । हिजै राति आफू र प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे वीर अस्पताल पुगेको र त्यतिबेलै चिकित्सकहरूले ९५ प्रतिशत बाँच्ने सम्भावना नरहेकोबारे आफूहरूलाई जानकारी गराएको उनले बताए ।

‘सरकारले गणेशकाप्रति नाटक गर्‍यो । हिजो बेलुका म त्यहाँ (वीर अस्पताल) गएको थिएँ । उसको चिकित्सकले भने अनुसार ९५ प्रतिशत बाँच्ने अवस्था छैन भन्नुभएको थियो । आज रातभर गृहमन्त्री लगायतले जुन स्टन्टबाजी गर्नुभएको छ,’ उनले भनेका छन् ।

गृहमन्त्री सुधन गुरुङले राति नै अस्पताल पुगेर उपचारका लागि नयाँ दिल्ली लाने तयारी भएको बताएका थिए । साथै, अस्पतालदेखि विमानस्थलसम्म प्रहरी परिचालन समेत गरेका थिए ।

गृहमन्त्रीको उक्त कार्यलाई सांसद शाहीले ‘स्टन्टबाजी’ को संज्ञा दिएका छन् ।