संसद्को अवरोध अन्त्यका लागि पहल गर्न सभामुखको आग्रह, सत्तापक्षलाई जिम्मेवारी
काठमाडौँ । प्रतिनिधि सभामा जारी अवरोध हटाउने विषयमा सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पहल गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी तथा अन्य विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् । यही विषयका कारण संसद् बैठकमा नियमित रूपमा विरोध प्रदर्शन हुँदै आएको छ ।
गत १७ जेठमा प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सीमासम्बन्धी अवस्थाबारे आफूले प्रधानमन्त्री बनेपछि जानकारी पाएको उल्लेख गर्दै दुवै देशतर्फबाट सीमा अतिक्रमणको अवस्था रहेको आशय व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीको उक्त भनाइप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अभिव्यक्तिको आधारमा तथ्य सार्वजनिक गर्न वा प्रधानमन्त्रीले आफ्नो भनाइप्रति स्पष्टता दिँदै क्षमा याचना गर्नुपर्ने माग राख्दै आएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि संसद्को अवरोध र त्यसको समाधानबारे छलफल भएको थियो । बैठकमा विपक्षी दलका प्रतिनिधिहरूले विषयलाई अनिश्चित समयसम्म लम्ब्याउन नहुने र सरकारले जवाफ दिएर निकास खोज्नुपर्ने धारणा राखेका थिए ।
समितिको छलफलपछि सभामुख अर्यालले समस्या समाधानका लागि सत्तारुढ दलले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
