पोखरा-दुबई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल
काठमाडौँ । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा-दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ ।
आइतबार पोखरा उद्योग वाणिज्य संघ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए। पोखरा–दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ थियो । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताए ।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबईको पोखरा–दुबई उडानलाई नियमित र दिगो बनाउन सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
