शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।
नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार पालिकाको क्षेत्राधिकार भित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनहरू मार्फत पूर्व स्वीकृति विना व्यापार व्यवसाय गरी रहेको गुनासो आएपछि कडाइ गरिएको हो ।
हाल नगरपालिकाको पूर्व स्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिकहरू रहेको पाइएको छ । पूर्व स्वीकृति विना व्यापार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकृत विष्टले स्पष्ट पारे।
यसैगरी, नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाउन विशेष कार्य अगाडि बढाएको छ । स्थानीय सडक, सडक किनारा तथा अन्य सार्वजनिक स्थानहरूमा पशु चौपाया बाँध्ने एवं बालुवा, गिट्टी, ढुंगा, काठ, इँटा, माटो लगायतका निर्माण सामग्री थुपार्ने कार्यलाई निरुत्साहित गर्न लागिएको छ ।
नगरपालिकाको पूर्व स्वीकृति विना सडकमा निर्माण सामग्री थुपार्ने र सडक खनेर क्षति पुर्याउने कार्यले सर्वसाधारण तथा सवारी साधनको आवतजावतमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेकाले यस्ता कार्य नगर्न आग्रह गरिएको छ ।
