सीआईएनका सम्पादक लिलप्रकाश चन्द ‘उत्कृष्ट सञ्चारकर्मी’ सम्मानबाट सम्मानित
रोल्पा । सामुदायिक सूचना नेटवर्क (सीआईएन) का सम्पादक लिलप्रकाश चन्द ‘उत्कृष्ट सञ्चारकर्मी’ सम्मानबाट सम्मानित भएका छन्।
समाज सुधार सामुदायिक सिकाइ केन्द्र, रोल्पाले पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तनका लागि योगदान पुर्याएको भन्दै परिवर्तन गाउँपालिका–३ थुनिकोटमा आयोजित विशेष समारोहमा चन्दलाई २० हजार रुपैयाँ नगदसहित सम्मान तथा अभिनन्दन गरेको हो।
केन्द्रले परिवर्तन गाउँपालिकामा जन्मिएर जिल्लाभित्र वा जिल्ला बाहिर पत्रकारितामा सक्रिय व्यक्तिमध्येबाट हरेक वर्ष एक जनालाई सम्मान गर्ने कार्यविधिअनुसार पहिलो पटक चन्दलाई छनोट गरिएको अक्षयकोष सञ्चालन समितिका संयोजक सूर्यप्रकाश डाँगीले जानकारी दिएका छन्।
उनका अनुसार जाजरकोट भूकम्पका बेला स्थलगत रिपोर्टिङ गर्दै सरोकारवालाबीच समन्वय स्थापित गर्न, रेडियो कार्यक्रममार्फत प्रभावित समुदायका लागि राहत, उद्धार र सूचनाको प्रभावकारी प्रवाह गर्न तथा काभ्रेको ठूलो पर्सेल क्षेत्रका तीन सयभन्दा बढी स्थानीयको स्वास्थ्य समस्या समाधानका लागि सञ्चारमाध्यममार्फत समन्वयकारी भूमिका निर्वाह गरेको मूल्याङ्कनका आधारमा चन्दलाई सम्मान गरिएको हो।
