सरकारको पहिलो १०० दिन सुशासनको आधार निर्माणमा केन्द्रित रहेको रवि लामिछानेको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको पहिलो १०० दिन नागरिकमुखी सेवा प्रवाह र सुशासनको आधार निर्माणमा केन्द्रित रहेको बताएका छन्। उनले सरकारका कामकारबाहीमा प्राप्त सुझावका आधारमा देखिएका कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले सरकारको प्राथमिकता सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र प्रविधिमैत्री बनाउने रहेको बताए।
उनका अनुसार नागरिकको प्रत्यक्ष सरोकार रहेका सेवामा डिजिटल प्रणालीको विस्तार, घरमै सेवा उपलब्ध गराउने व्यवस्था तथा सेवा लिनुपर्ने झन्झट घटाउने दिशामा सरकारले काम सुरु गरेको छ। त्यसको प्रभाव क्रमशः देखिने उनले दाबी गरे।
सरकारका कामकारबाहीबारे आएका सुझावलाई सकारात्मक रूपमा लिइने उल्लेख गर्दै लामिछानेले असल नियतका साथ अघि बढाइएका केही काममा प्रक्रियागत कमजोरी हुन सक्ने स्वीकार गरे। त्यस्ता विषयमा सरकार सचेत रहेको र आवश्यक सुधार गर्दै जाने उनको भनाइ थियो।
लामिछानेले सरकारका निर्णय र कार्यान्वयन प्रक्रियामा देखिएका कमीकमजोरी पहिचान गरी भविष्यमा त्यस्ता त्रुटि दोहोरिन नदिने विषयमा सरकार सचेत रहेको पनि बताए।
