निर्माण व्यवसायीद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै सांघातिक आक्रमण, अस्पतालमा उपचार हुँदै
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ। घटनापछि घाइते भएका चन्द्र कान्त बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन्।
उनका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्। “हिजो अदालतमा मुद्दाको सुनुवाइ थियो। उनीहरूले हारे, गाउँपालिकाले जित्यो। त्यसको रिसमा ‘हामीलाई मुद्दा किन हराइस्’ भन्दै ममाथि कुटपिट गरियो,” उनले प्रशासन सिंहदरवार विशेष ब्युरोसँग भने ।
आक्रमणका क्रममा आफूलाई ज्यान तथा परिवारमाथि समेत धम्की दिइएको उनको भनाइ छ। “तँले हामीलाई असहयोग गरिस्, तलाई जे पनि गर्छौं, तेरो परिवारलाई समेत जे सुकै गर्न तयार छौँ भन्ने धम्की दिँदै कार्यकक्षमै आएर हातपात गरे,” उनले बताएका छन्।
कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। हाल इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाउँपालिकाभित्रै प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमणले सार्वजनिक पदमा कार्यरत कर्मचारीको सुरक्षा तथा कानुनी शासनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
