दलीय विद्यार्थी संगठनलाई आधिकारिक संरचना उपलब्ध नगराएको त्रिविको स्पष्टीकरण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले दलीय विद्यार्थी संगठनलाई विश्वविद्यालय वा क्याम्पसभित्र कुनै पनि संरचना आधिकारिक रूपमा प्रयोग गर्न अनुमति नदिएको स्पष्ट पारेको छ।
विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारलाई पठाएको पत्रमा त्रिविले क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को व्यवस्था रहेको उल्लेख गर्दै दलीय विद्यार्थी संगठनका लागि भने कुनै आधिकारिक संरचना उपलब्ध नगराइएको जनाएको छ।
त्रिविले कुनै क्याम्पसमा दलीय विद्यार्थी संगठनले त्यस्ता संरचना निर्माण गरी प्रयोग गरेको पाइए तत्काल हटाउन २०८३ असार १५ गते नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जनाएको छ।
यसअघि त्रिविले सोमबार जारी निर्देशनमार्फत क्याम्पस परिसरभित्र रहेका यस्ता संरचना तत्काल हटाउन आग्रह गरेको थियो। सरकारको निर्णयअनुसार विद्यालय तथा विश्वविद्यालय परिसरबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउने तथा त्यसपछि ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक विद्यार्थी प्रतिनिधित्व संयन्त्र विकास गर्ने नीति अघि बढाइएको छ।
सरकारले शैक्षिक संस्थामा हुने दलीय हस्तक्षेप न्यूनीकरण, विद्यार्थीको वास्तविक प्रतिनिधित्व सुनिश्चित तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गर्न लागिएको जनाएको छ।
हालको व्यवस्थाअनुसार स्वतन्त्र विद्यार्थी युनियनका सभापतिमध्ये दुई जना त्रिभुवन विश्वविद्यालय सभाका सदस्य रहने प्रावधान छ। यता, त्रिविले दलीय विद्यार्थी संगठनसँग सम्बन्धित संरचना हटाउने निर्णय सार्वजनिक गरेपछि स्ववियु तथा विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध जनाउँदै आएका छन्।
