सञ्चार मन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सञ्चार मन्त्री डा. तिमिल्सिनाले आज सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक सालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालयमार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराएका थिए। सञ्चार मन्त्री तिमिल्सिनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिएका छन्।

त्यसपछि उनले सुन्धारास्थित दूरसञ्चार कार्यालयको निरीक्षण गरी सेवा लिन आएका सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरेका छन् । नयाँ सिम कार्ड लिने, बिल भुक्तानी, ई–सिम सेवा, टेलिफोन तथा इन्टरनेट सेवासम्बन्धी अनुभवका बारेमा सेवाग्राहीसँग जानकारी लिनुभएको थियो । सेवाग्राहीले कार्यालयमा सेवा लिन लामो समय लाइनमा बस्न नपरेको तथा अपेक्षाकृत छिटो सेवा प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।