कुरियर सेवालाई अत्यावश्यक सेवाको मान्यता दिन व्यवसायीको आग्रह

काठमाडौँ । कुरियर व्यवसायीहरूले हुलाक सेवासरह कुरियर सेवालाई पनि कानुनी रूपमा अत्यावश्यक सेवाको सूचीमा समावेश गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले यस्तो व्यवस्था भए संवेदनशील सामग्रीको निर्बाध ढुवानी तथा सेवा सञ्चालन सहज हुने बताएका छन्।

मंगलबार काठमाडौँमा हुलाक सेवा विभागद्वारा आयोजित उच्चस्तरीय संवाद कार्यक्रममा नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिलराज भट्टराईले कुरियर क्षेत्रको भूमिका र आवश्यकतामाथि ध्यानाकर्षण गराउँदै अत्यावश्यक सेवाको मान्यता प्रदान गर्नुपर्ने धारणा राखे।

उनले कुरियर व्यवसायको नियामकीय संरचना अझै स्पष्ट नभएको उल्लेख गर्दै यो सेवा कुन मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भन्ने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको बताए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा उद्योगसँग सम्बन्धित निकायमध्ये कुन अन्तर्गत सञ्चालन हुने भन्ने विषय स्पष्ट नभएको उनको भनाइ थियो।

भट्टराईका अनुसार मुलुकको निर्यात प्रवर्द्धनमा कुरियर सेवाले उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भए पनि भन्सार प्रक्रियामा आवश्यक सहजीकरण र उपयुक्त व्यवस्थापनको अभाव रहेको छ। उनले निर्यातसँग सम्बन्धित कार्यमा कुरियर क्षेत्रको सहभागिता ६० प्रतिशतभन्दा बढी रहेको दाबी गरे।