भरतपुरबाट काठमाडौँ फर्किए बालेन, रास्वपामा निर्वाचन प्रक्रिया जारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया जारी रहँदा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) काठमाडौँ फर्किएका छन्।
भरतपुरमा जारी महाधिवेशनका क्रममा सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। लामिछानेको उम्मेदवारीमा शाह प्रस्तावक रहेका थिए। सभापति चयन प्रक्रिया सम्पन्न भए पनि अन्य पद तथा केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया भने जारी छ।
महाधिवेशनस्थलमा केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदानको तयारी भइरहेका बेला शाह भरतपुरबाट काठमाडौँ फर्किएका हुन्। निर्वाचन कार्यक्रमअनुसार ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। मतदानका लागि रामलक्ष्मण इनोभेसनको विद्युतीय मतदान मेसिन प्रयोग गरिने व्यवस्था गरिएको छ।
शाह पहिलो चरणको मतदानमा सहभागी नभई काठमाडौं फर्किएका छन्। उनी श्रीमती, छोरी तथा सल्लाहकार कुमार बेनसहित चितवनबाट प्रस्थान गरेका हुन्।
