अक्सिमिटर : कसरी परीक्षण गर्ने

कोरोना भाइरसको पुरानो भेरियन्टको महामारी चलिरहेकै बेलामा वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा. शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले ।

सामान्य रुपमा कुराकानी गरिरहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्त आकस्मिक कक्षमा लगेर उनको शुरुमा अक्सिजनको मात्रा परीक्षण गरियो । अन्तिममा थाहा भयो कि उनको शरीरमा धान्नै नसक्ने गरी अक्सिजनको मात्रा घटेको रहेछ ।

दोस्रो भेरियन्टको कोरोना भाइरसको महामारी बढिरहेको छ । अहिलेको स्वास्थ्य प्रणालीले अस्पतालमा बिरामी राख्न सक्ने अवस्था नरहेको भनेर सरकारले हात उठाइसकेको अवस्थामा घरमै आइसोलेसनमा बस्दा आफ्नो शरीरमा अक्सिजनको मात्रा कसरी परीक्षण गर्ने त ?

डा. पुनका अनुसार मानव शरीरमा अक्सिजनको तह घट्दै गएको अवस्थामा फोक्सोमा निमोनियाको असर बढ्दै गएको हुन्छ । जतिबेला मान्छेले आफ्नो शरीरमा अक्सिजनको मात्रा घटेको महसुस गर्छ, त्योबेलासम्म उसमा जोखिमको मात्रा बढ्दै गएको हुन्छ । त्यसैले त्यही अक्सिजनको मात्रा शरीरमा कम भएको महसुस गर्नुभन्दा पहिले नै त्यसको मात्रा पत्ता लगाउने प्रविधि हो, अक्सिमिटर ।

अक्सिमिटरले लक्षण नदेखिएका बिरामीको रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्ने काम गर्छ । यही अक्सिमेटरबाट अक्सिजनको मात्रा परीक्षण गर्ने विधिलाई अक्सिमेटरी विधि भनिन्छ ।जानकारहरुका अनुसार एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ । ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ । यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्‍यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

कोरोनाको सम्भावना देखेर क्वारेन्टिनमा बसेका र आइसोलेसनमा बसेकाले समेत सम्भव भएसम्म अक्सिमिटरको प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् ।

अहिले कोरोना भाइरसको महामारी बढिरहेको बेलामा अक्सिजनको अभावले धेरैले ज्यान गुमाउनु पर्ने जोखिम बढिरहेको बेला शुरुमा नै अक्सिजनको मात्रा कम हुन नदिन समय–समयमा यसको परीक्षण गरिरहनु उचित हुने बताउँछन् ।

यो प्रविधिमार्फत् गरिने परीक्षणले हृदय र फोक्सोको कार्यलाई कुनै असर परेनपरेको र रगतमा हुने अक्सिजनको अभाव कुन अवस्थामा छ ? भन्ने कुरा जानकारी पाउन सकिन्छ ।

यो एक किसिमको फोटो इलेक्ट्रिक उपकरण हो । यो आफैंमा पुनः प्रयोगयोग्य हुन्छ । जसलाई औंलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्न सकिन्छ ।

आज प्रायःजसो प्रयोग हुने अक्सिमेटरहरूलाई पल्स अक्सिमिटरहरू भनिन्छ । यसले मुटुको धड्कनको मात्रा समेत परीक्षण गर्छ ।

पल्स अक्सिमिटरका फाइदा

बजारमा थरीथरीका पल्स अक्सिमिटर पाइन्छ । यसका आफ्नै छुट्टै विशेषता हुन्छन् । तर यसको फाइदा भने समान खालको हुन्छ ।

सबैभन्दा मुख्य फाइदा भनेको त फोक्सोमा निमोनियाको मात्रा आकाशिनुपूर्व नै यो प्रविधिको प्रयोगले हामीलाई सचेत गराउन मद्दत गर्र्छ । पल्स अक्सिमिटरले शरीरको स्वास्थ्य परीक्षणमा निम्न फाइदा गर्छ ।

  • समयको साथमा अक्सिजनको मात्राबारे निरीक्षण गर्न
  • विशेषगरी नवजात शिशुहरूमा अक्सिजनको कमीका कारण खतरनाक स्थितिबारे सूचना दिन
  • दीर्घकालीन श्वासप्रश्वास वा हृदयसम्बन्धी समस्या भएका मानिसहरूको मानसिक स्थितिको विश्लेषण गर्न ।
  • पूरक अक्सिजनको लागि आवश्यकता मूल्यांकन गर्न ।

Like Share on Social media
  •  
  •  
  •  
  •