अष्ट्रेलियाका राजदूत दाहाल बर्खास्त, प्रतिभा र शर्मिलाको थमौती

काठमाडौं । सरकारले दुईवर्षे कार्यकाल रहँदै छँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य समेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध थिए ।

२०७४ सालको चुनावमा प्रचण्डलाई सहयोग गरेपछि उनी माओवादी प्रवेश गरेका थिए । फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत पाउने सेवा सुविधा रोकिएको छ । सरकारले प्रचण्ड निकट लीलामणी पोखरेललाई चीनको राजदूतबाट पनि फिर्ता बोलाएको थियो ।

साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभैञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •