नयाँ आर्थिक वर्ष शुरु भएयता पाँच गैँडा मृत भेटिए

काठमाडाै । चितवन राष्ट्रिय निकुञ्जमा शनिबार र शुक्रबार दुई वटा गैँडा मृत भेटिएका छन् ।
योसँग साउनमा नयाँ आर्थिक वर्ष शुरु भए यता पाँच गैँडा मृत भेटिएका छन् ।
पाँचमध्ये एउटा गैँडा चोरी शिकारीबाट मारिएको आशंका गरिएको निकुञ्जले जनाएको छ ।
अन्य गैँडा भने काल गति र दुर्घटनाबाट मरेका हुन् ।
शुक्रबार र शनिबार भेटिएका दुवै गैँडा नदीमा बगेर मरेको आशंका गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार शनिबार नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ ।
गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट सो गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पुर्याएकाे हुन सक्ने उनले बताए।
त्यस्तै शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र नवलपरासी लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत भेटिएको छ ।
उक्त गैँडा एकदेखि दुई महिनाअघि मरेको हुन सक्ने अनुमान निकुञ्जको छ ।
सडेको अवस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित थिए।
सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार यो वर्ष साउनमा एउटा र भदौमा अरु दुई वटा गैँडा पनि मृत भेटिएका थिए ।
भदौमा मरेको दुई मध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मारिएको रामले जानकारी दिए।
मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित भेटिए पनि टाउकोमा गोली लागेको घाउ थियो। तर, परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जमा यो आव शुरु भएपछि १७ साउनमा पहिलो गैँडा मृत फेला पारेको थियो। त्यसपछि ६ भदौमा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो।
रामका अनुसार ती दुवै गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेको मानिएको छ।
सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६४५ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा भेटिएका थिए।
पहिलो गैँडा गणनापश्चात निकुञ्ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैँडा मरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्