मुक्तिनाथ विकास बैंक उन्नाइसौं वर्षमा

काठमाडौं मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो अठारौं वर्ष पूरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रवार देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। 

बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट,काठमाडौंसहित क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरी ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको छ।

जलवायु परिवर्तन र वातावरण संरक्षणलाई लक्षित गर्दै कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच  “Art for Earth: Combating Climate Change” शीर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भयो। कुल ४७६ विद्यार्थी सहभागी भएको प्रतियोगितामा जुलेन गुरुङ सर्वोत्कृष्ट घोषित भई रु. ५०,००० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। क्षेत्रीय स्तरका विजेतालाई जनही रु. १०,००० नगद र प्रमाणपत्र प्रदान गरियो।

बैंकले कृषि क्षेत्रमा अनुसन्धानमूलक पत्रकारिता गर्ने उत्कृष्ट तीन पत्रकारलाई “मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार” प्रदान गर्यो। सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं), र माधव प्रसाद अर्याल (पाल्पा) क्रमशः रु. ३५,०००, रु. २५,००० र रु. १५,००० नगद पुरस्कारसहित सम्मानित भए।

बैंकले सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति, पुस्तकालय स्थापना, न्यानो कपडा र स्टेशनरी वितरण, सरसफाइ अभियान, बागमती सफाई महाअभियानलाई सामाग्री हस्तान्तरण, वित्तीय र डिजिटल साक्षरता अभियानजस्ता कार्यक्रम सञ्चालन गरियो। साथै, धार्मिक-सांस्कृतिक विकासका लागि आर्थिक सहयोग र स्थानीय निकायहरूसँग सहकार्यमा फर्निचर तथा उपकरण हस्तान्तरण पनि गरियो।

केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरे। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकका हालका उपलब्धिहरू र भावी योजनाबारे जानकारी दिए। संस्थागत गीत विमोचन र १० वर्ष सेवा अवधि पूरा गरेका ४१ जना कर्मचारीको सम्मान कार्यक्रमका अन्य मुख्य आकर्षण थिए।

कार्यक्रममा बैंकका सञ्चालक, सेयरधनी, सेवाग्राही र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। व्यवस्थापक तेज बहादुर गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।मुक्तिनाथ विकास बैंकले आफ्नो वित्तीय सेवाको विस्तारसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।