कालिकोट केन्द्रबिन्दु भएर पुन गयो भूकम्प
काठमाडौं नेपाल, विशेष गरी पश्चिम क्षेत्र, पछिल्लो समय भूकम्पीय गतिविधिहरूको केन्द्र बनेको छ। आज बिहान ५ बजेर ९ मिनेट जाँदा कालिकोटको ओदानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पश्चिम नेपाल पछिल्लो समय साना तर लगातारका भूकम्पहरूको साक्षी बनिरहेको छ। जाजरकोट, बाजुरा र दार्चुलाका विभिन्न स्थानहरूमा पछिल्ला दिनहरूमा थुप्रै साना(मझौला भूकम्पहरू महसुस भएका छन्। भूगर्भविद्हरूका अनुसार यो क्षेत्रमा भूकम्पीय प्लेटहरूको सक्रियता बढिरहेको देखिन्छ। साना मापनका भूकम्पले ठूला भूकम्पको पूर्वसंकेत हुन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन आग्रह गरेका छन्।
बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यस भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लाहरूमा महसुस गरिएको थियो। यसैगरी, मंगलबार बिहान ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प जाँदा क्षेत्रका बासिन्दाहरू त्रसित हुन पुगेका थिए।
शनिबार बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प जाँदा छिमेकी जिल्लाहरूमा पनि धक्का महसुस गरिएको थियो। बाजुरामा यो भूकम्पले केही भौतिक क्षति पनि पुर्याएको खबर आएको छ।
यसअघि, गत वर्षको कात्तिकमा जाजरकोटमा गएको ६.४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति पुर्याएको थियो। यो घटनाले स्थानीय बासिन्दाहरूमा गहिरो प्रभाव पारेको थियो।
नेपालको भूकम्पीय इतिहासमा २०७२ सालको भूकम्प एक ऐतिहासिक र भयानक घटना हो। ७।८ म्याग्निट्यूडको यस भूकम्पले हजारौंको ज्यान लिएको थियो भने लाखौं मानिसलाई विस्थापित गर्यो। काठमाडौँ उपत्यका, गोरखा, सिन्धुपाल्चोक, दोलखा, र नुवाकोटजस्ता जिल्लाहरूमा व्यापक भौतिक क्षति भएको थियो। यस घटनाले नेपाललाई भूकम्पीय सुरक्षा र विपद् व्यवस्थापनमा ठूलो चुनौतीको सामना गर्न बाध्य बनायो।
नेपालका भूगर्भविद्हरूका अनुसार हिमालय पर्वत श्रृंखलामा पर्ने नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिमयुक्त क्षेत्र हो। पछिल्ला घटनाहरूले भूगर्भीय प्लेटहरूको गतिशीलता सक्रिय रहेको संकेत गर्छ। साना भूकम्पहरूले कहिलेकाहीँ ठूलो भूकम्प आउनुअघि भूगर्भीय तनाव कम गर्ने भूमिका खेल्छन्। तर, यो निरन्तर हुने गतिविधिले ठूलो भूकम्पको सम्भावनालाई पनि अस्वीकार गर्न सक्दैन।
२०७२ सालको भूकम्पपछि सरकारले भूकम्पीय सुरक्षा र विपद् व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको भए पनि त्यसको प्रभाव अझै पर्याप्त देखिएको छैन। ग्रामीण क्षेत्रहरूमा भूकम्प प्रतिरोधी भवनहरूको निर्माण र जनचेतना अभिवृद्धि अपरिहार्य छ। स्थानीय र राष्ट्रिय सरकारको सहकार्यमा आपतकालीन योजना निर्माण, आपतकालीन सामग्रीको भण्डारण, र नियमित तालिमहरू सञ्चालन गर्नुपर्छ।
नेपालमा पछिल्ला भूकम्पीय गतिविधिहरूले देशभर पुनः सतर्कता अपनाउनुपर्ने देखाएको छ। २०७२ सालको भूकम्पले दिएको पाठलाई आत्मसात् गर्दै वर्तमानमा हुने भूकम्पीय घटनाहरूसँग जुध्न तयार रहनु महत्वपूर्ण छ। दीर्घकालीन योजना र तत्कालीन तयारीले मात्र सम्भावित जोखिमलाई कम गर्न सकिन्छ। सरकार, समुदाय, र गैरसरकारी संस्थाहरूको सहकार्यले मात्र भूकम्पीय सुरक्षा र विपद् व्यवस्थापनमा उल्लेखनीय प्रगति गर्न सकिनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्