निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा उपस्थित
काठमाडौँ निलम्बित प्रहरी निरीक्षक ( इन्स्पेक्टर) बिनु शाही अदालतमा उपस्थित भएकी छन् । आइतबार उनी ललितपुर जिल्ला अदालतमा हाजिर भएकी हुन् ।
भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा पक्राउ परेका थिए ।
घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । यसअघि गृह मन्त्रालयले शाहीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा बिकले असोज ६ मा भैँसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । अनुसन्धानको क्रममा घटना अन्यत्र मोडिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्