सभापति रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गरिदै
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्न लागिएको छ ।
सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै २०८१ पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो ।
चार दिनको म्याद पुस ५ गते शुक्रबार नै सकिए पनि पुस ६ गते शनिबार सार्वजनिक बिदा भएकाले पुस ७ गते आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।
कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्