नेपाल प्रिमियर लिगमा कुन खेलाडिले के अवार्ड प्राप्त गरे ?
काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने दीपेन्द्र पहिलो खेलाडी बनेका हुन् ।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डीएलएक्स कार प्राप्त गरेका हुन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । दीपेन्द्रको कप्तानीमा रहेको सुदूरपश्चिम एनपीएलको पहिलो संस्करणमा उपविजेता बनेको छ । कप्तान दीपेन्द्रले एनपीएलका नौ खेलबाट दुई सय २७ रन जोड्दै नौ विकेट लिएका छन् ।
एनपीएलको विजेता टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । उनले एनपीएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपीएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रन समेत जोड्न सफल भए । उनी सर्वाधि कविकेट लिने खेलाडीसमेत हुन् ।
‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिमका खेलाडी इंग्लिस खेलाडी सैफ जैबले पाएका छन् । उनले पाँच लाखको चेक प्राप्त गरे । जैबले एनपीएलमा सुदूरपश्चिमका लागि दुई सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए ।
जनकपुरबाट एनपीएल खेलेका श्रीलंकाली मूलका अमेरिकी क्रिकेटर लाहिरू मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । एनपीएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन् । मिलान्थाले एनपीएलमा कूल दुई सय ९३ रन बनाएका छन् ।
यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इनरजेटिक प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड प्राप्त गरेका छन् । उनले दुई लाख रुपैयाँको चेकसमेत प्राप्त गरेका छन् । निशमले जनकपुरका लागि दुई ४७ रन जोड्दै ७ विकेट आफ्नो नाममा दर्ता गरेका छन् ।
कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’को अवार्डसहित ५० हजार रुपैयाँको चेक प्राप्त गरेका छन् । साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कूलबाट १० लाख रुपैयाँ बराबरको छात्रवृृत्तिसमेत प्राप्त गरेका छन् । विपीनले एनपीएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । एनपीएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’को अवार्ड जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमलाई पाँच विकेटले हराएर जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्