यु १९ महिला एसिया कपमा आज नेपालले बंगलादेशको सामना गर्ने
काठमाडौं मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली महिला टोली बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा रहेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् ।
सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग नतिजा विहीन खेल खेलेको थियो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपालले श्रीलंकासँग अंक बाडेको थियो । सुपर फोरको पहिलो खेलमा भने बंगलादेश भारत यु १९ सँग ८ विकेटले पराजित भएको थियो ।
भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो ।
श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो । पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो ।
सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।
फाइनल आइतवार हुनेछ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।
यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्