सुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक

काठमाडौं आर्टमाण्डुले निर्माण गरेको सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यसमा प्रेम, बिछोड, पछुतो र पीडालाई कलात्मक चित्रण गरिएको छ ।

गीतमा हर्क साउदको शब्द, चापागाईंसहित विद्या तिवारीको स्वर छ । चापागाईंले संगीत भरेका छन् । संगीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन् । विश्वास लामाले न्यारेसन लेखेका छन् ।

सामाजिक संजालका कन्टेन्ट क्रिएटरसमेत रहेका साइग्रेस पोखरेलले न्यारेसनले गीतलाई आकर्षक तुल्याएको छ । अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निर्वाह गरेका छन् ।

अन्य कलाकारमा शंकर पराजुली, सुधन पोखरेल र विजय नेपाल छन् । छायांकन चिन्तन राजभण्डारीले गरेका हुन् । संगीतकार चापागाईंले आफूलाई मनपर्ने जनरासँग पहिलो पटक साक्षात्कार गर्ने जमर्को मिलेको बताए ।

उनले यो गीत पीडित हृदयप्रति समर्पित रहेको बताए । निर्देशक नवीन चौहानले यो प्रोजेक्ट आर्टमाण्डुको लागि विशेष रहेको बताए ।