काठमाडौंमा चिसो बढ्यो, अन्य स्थानको मौसम कस्तो ?

काठमाडौं  पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । 

दिपायलमा पछिल्लो २४ घण्टामा २.५, डडेल्धुरामा ३.१ र सुर्खेतमा २.१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका  पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । 

यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।

काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुबै घटेसँगै कठ्याङ्ग्रिने जाडो भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ । यस्तै, न्यूनतम तापक्रम समेत ५ डिग्री सेल्सियस हाराहारी आएको मौसमविदले बताएका छन् । जसकारण मानिसहरुलाई एका विहानै घर बाहिरन निस्किन कठिनाई भएको छ ।