स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौं : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाई वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

मङ्गलवार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो । 

यसैगरि उहाँले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताउनुभयो ।