नवरात्रको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा गरिंदै

काठमाडाैँ  बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

अघिल बर्षहरुमा बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको भएपनि यस बर्ष भने कोरोना महामारीका कारण धार्मिक स्थलहरु सुनसान रहेका छन् । विभिन्न तहका प्रशासनले कोरोना संक्रमण फैलिने भन्दै धार्मिक स्थलमा जान प्रतिबन्ध लगाएका कारण सुरक्षित भएर आआफ्नो सुबिधा अनुसार देवीको पुजा गरेर यस बर्ष दशैँ मनाइदै छ ।

उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु
भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ । 

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ ।  तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेरहेको छ ।

दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।