बागमती विश्वविद्यालयको उपाध्यक्षमा सुवेदी नियुक्त

काठमाडौँ बागमती विश्वविद्यालयको उपाध्यक्षमा कुसुमराज सुवेदी नियुक्त भएका छन् । मङ्गलवार बसेको बागमती विश्वविद्यालयको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो । चितवन खैरहनी–५ निवासी सुवेदी करिब २० वर्षदेखि शिक्षण पेसामा आबद्ध छन् ।

खैरहनी–३ स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायको शिक्षाशास्त्र तथा पाठ्यक्रम मूल्याङ्कन अन्तर्गत पेडागोजी विषयमा विद्यावारिधि गरेका छन् ।

बागमती विश्वविद्यालयको विधान २०८० को परिच्छेद ६ को दफा १२ मा व्यवस्था गरिएको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । सोही विधानको परिच्छेद ८ को दफा १५ मा उपाध्यक्षको व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ९१० मा उपाध्यक्ष विश्वविद्यालयको प्रशासकीय प्रमुख हुने व्यवस्था गरिएको छ भने उपदफा २ मा उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गठन गरेको छनौट समितिले सिफारिस गरेका तीन जना उम्मेदवारमध्येबाट कार्यकारी परिषद्ले गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार संरक्षक समितिले सुवेदीलाई जिम्मेवारी दिएको हो ।  विधानअनुसार उपाध्यक्षको पदावधि ४ वर्षको रहने व्यवस्था गरिएको छ ।

उनीसहित ५ जनालाई उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सर्ट लिष्ट गरेको थियो । सो लिस्टमा खेमराज जोशी, देवचन्द्र मानन्धर, धर्मदत्त तिवारी र शिवराज सन्जेल समावेश रहेका थिए । सिफारिस समितिले उपाध्यक्ष नियुक्ति मापदण्ड अनुसार माग गरेका कागजात र कार्य योजनाअनुसार सुवेदीले आवेदन पेस गरेका थिए । उनले व्यवहारिक शिक्षा प्रणालीका बारेमा आफ्नो कार्य योजनामा समावेश गरेका थिए ।

विश्वविद्यालयको पाठ्यक्रम निर्माण, संरचना विकास तथा अध्ययन, अध्यापनका विषयमा उनले आफ्नो कार्य योजना बनाएका थिए । उनले अध्ययन समिति निर्माण गरी बजार माग अनुसारको जनशक्ति निर्माण गर्नेगरी विश्वविद्यालयको पाठ्यक्रम र कार्यक्रम तयार पार्ने आफ्नो कार्य योजनामा समावेश गरेका थिए ।