सदनमा थन्किएर बसेको शिक्षा विधेयक पारित हुन नसक्नु दुर्भाग्य : महर

काठमाडौँ सत्ता साझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सदनमा थन्किएर बसेको शिक्षा विधेयक पारित हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् । उनले संविधान र ऐनमा व्यवस्था भएको अनिवार्य र निःशुल्क शिक्षा नीति कार्यान्वयन गर्न माग गरेका हुन् । 

राष्ट्रिय शिक्षा दिवसको अवसरमा मंगलबार बानेश्वरमा सरोकारवालाबिचको छलफलमा पार्टी शिक्षा विभाग प्रमुख समेत रहेका उनले सो कुरा सरकारसँग माग गरेका हुन् । नेता महरले संविधान र ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए । 

‘संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने उल्लेख छ । यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने खाका बनाइनुपर्छ। को–कोसँग छलफल गर्नुपर्ने हो सरकारले त्यो पनि गर्नुपर्छ,’ उनले भने । नेता महरले संविधानमा अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने हकको ग्यारेन्टी भएको जिकिर गरे । यस्तै उनले दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी सांकेतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा पाउने हक पनि सुनिश्चित गर्न सरकारसँग माग गरे ।