कर्मचारी सञ्चय कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् । सोमबार कर्मचारी सञ्चय कोषको ६३ औँ वार्षित्सव कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

अर्थमन्त्री पौडेलले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गरे । उनले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिए । उनले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औँल्याए । 

अर्थमन्त्री पौडेलले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेर दिएको २७ अर्बभन्दा बढी लगानी उठाउन पहल गर्न निर्देशन दिए । उनले सरकार ग्यारेन्टी बसेको छ भनेर मौन नबस्न आग्रह गरे । उनले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ भन्ने कुरालाई सूक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिए । उनले कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसाबले काम गर्नु जरुरी देखिएको उल्लेख गरे । 

अर्थमन्त्री पौडेलले सञ्चयकर्ताहरूले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सूक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे ।