नारायणी अस्पतालको एमआरआई सेवा आजदेखि सञ्चालनमा

काठमाडौँ वीरगञ्जको नारायणी अस्पतालको एमआरआई सेवा आजदेखि सञ्चालनमा आएको छ ।

‘सफ्टवेयर’ समस्याका कारण गत वैशाख १४ गतेदेखि बन्द रहेको सेवा सञ्चालनमा आएपछि महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा एमआरआई गराउनुपर्ने बाध्यताबाट बिरामीले उन्मुक्ति पाएका छन् ।

बजारभन्दा करिब ३० प्रतिशत सस्तो मूल्यमा सेवा दिँदै आएको यस अस्पतालको सेवा बन्द भएपछि दैनिक १० देखि १२ जना बिरामीलाई निजी स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता रहेकामा सो समस्या समाधान भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ऐनामलु हकले जानकारी दिए ।

उनले सेवा सञ्चालन भएपछि मधेश प्रदेशका पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट उपचारका लागि आउने मस्तिष्क तथा मेरुदण्डका बिरामीहरूको समय र खर्च जोगिने विश्वास व्यक्त गरे ।

'अस्पतालमा रहेको ‘७२ च्यानलको थ्री टेस्ला एमआरआई मेसिन’बाट एक दिनमा १० देखि १२ जनालाई सेवा प्रदान गर्न सकिन्छ । यस विशिष्टिकृत सेवाबाट सबैभन्दा बढी गरिब, असहाय र स्वास्थ्य बिमा धारकलाई लाभ हुनेछ,' मेसु हकले बताए ।

बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी र सीमावर्ती भारतीय शहरबाट दैनिक एक हजारभन्दा बढी बिरामी नारायणी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।