एमाले पोलिटब्युरो बैठकमा १३ बुँदे प्रस्ताव पारित

काठमाडौँ  नेकपा एमालेले सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिले जनतामा आशाको सञ्चार भएको उल्लेख गरेको छ । मंगलबारदेखि सुरु भएको एमाले पोलिटब्युरो बैठकले १३ बुँदे प्रस्ताव पारित गर्दै यस्तो उल्लेख गरेको हो । 

बुधबार सकिएको बैठकले सर्वोच्च अदालतको २०८० पुस ३ गतेको परमादेशले काठमाडौँ उपत्यकाभित्रका नदी, सहायक नदी र खोला लगायतका तटीय क्षेत्रमा नक्सा पास गरी वैध संरचना बनाएर बसोबास गरिरहेका र व्यवसाय सञ्चालन गरिरहेका हजारौँ परिवारहरू प्रभावित हुने, कतिपय धार्मिक– सांस्कृतिक– सामाजिक संरचनाहरू समेत हटाउनु पर्ने जटिल स्थिति देखा परेको उल्लेख गर्दै सर्वोच्चको उक्त परमादेशका दूरगामी र जटिल असरलाई ध्यानमा राख्दै पुनरावलोकनका लागि आवश्यक कानुनी प्रबन्धका निम्ति सरकारको ध्यानाकर्षण गर्ने प्रस्ताव पारित गरेको छ ।